धनगढी । ऐश्वर्य विद्या निकेतन र कैलाली मोडल स्कुलले धनगढीमा आजबाट सुरु भएको दीपेन्द्र स्वार स्मृति डीसीए कप स्कुल स्तरीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ऐश्वर्यले एरिस्टो इङ्लिस बोर्डिङ स्कुल र कैलाली मोडेलले विद्याभुषण स्कुललाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।बिहान भएको खेलमा ऐश्वर्यले दिएको ११३ रनको लक्ष्य पछ्याएकोएरिस्टोले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।
एरिस्टोका किरण देउवाले ९, विशाल खडायतले २, आसिम आग्रीले ६, पवन बोहराले ११, कुशल शाहीले ६ र सन्देश गिरीले ६ रन जोडे ।ऐश्वर्यका पर्वत मलासीले ४ तथा सुरेन्द्र धामीले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ऐश्वर्यले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
ऐश्वर्यका परागत मुडभरीले २८, सागर लोथ्यालले १५, दीपेश चदाराले ८ र अनुजसिंह धामीले ९ रन जोडे । एरिस्टोका निर्मल सिंह र किरण देउवाले दुई दुई विकेट लिए । खेलको म्यान अफ द म्याच ऐश्वर्यका पर्वत मलासी घोषित भए ।
यस्तै दिउँसो भएको अर्को खेलमा कैलाली मोडेलले विद्याभुषण पब्लिक स्कुलमाथि १० विकेटको जित हात पारेको छ । विद्याभुषणले ८ ओभरमा सबै विकेट गुमाएर ३० रन बनाएको थियो । जवाफमा ३.५ ओभरमा विना विकेटको क्षतीमा कैलाली मोडेलले लक्ष्य हासिल गर्यो । कैलाली मोडलका अनिल सिंह ऐरी म्यान अफ द म्याच चुनिए । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।
यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए । त्यसबाहेक वेस्ट बलर र वेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो ।
आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैङ्क, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।