काठमाडौं। सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक युवकले आफैंमाथि आगो लगाएका छन्।
बिहीबार पौने १२ बजे अन्दाजी ३० वर्षीय विशान लामिछाने गुरुङले आफैंमाथि आगो लगाएका हुन्। उनले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ।
गुरुङको अनुहार र शरीरका विभिन्न भागमा आगोले जलेको छ। उनको शरीरको आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए।
उनको अवस्था मध्यम रहेको तथा आत्मदाह गर्न खोज्नुको कारण भने हालसम्म नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेश मैनालीले बताए।
उनको उद्धार गरेर प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लिएको छ। घटनाबारे प्रहरीले अनुन्धान गरिरहेको छ।