काठमाडौं। काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले ७३१ थान राहदानी बरामद गरेको छ।
त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो।
उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ।
गएराति पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।