काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदका लागि नेतृ ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएसँगै ह्वीप जारी गरेको छ । कांग्रेसले सभामुखका लागि हुने मतदानको दिन अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन र न्यौपानेका पक्षमा मतदान गर्न हृवीप जारी गरेका छन् ।भोलि बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि मतदान हुँदै छ ।
सभामुखमा सत्तारूढ गठबन्धनबाट एमालेले देवराज घिमिरेलाई अघि सारेको छ । घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा रहने छन्। कांग्रेसले घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्नेछ ।
सभामुखको निर्वाचन भोलि बिहान ११ बजे हुनेछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गरिनेछ ।