काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारको प्रवक्ता बनेकी छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सरकारको प्रवक्ता बनाउने निर्णय गरेको हो।
सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ। मन्त्री शर्मा मंगलबार मात्र मन्त्री नियुक्त भएकी थिइन्।
यसअघि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्त तोकिएको थियो।
त्यस्तै, बैठकले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको छ। उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ।
बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ।
साथै, आजकै बैठकले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।
पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएपछि बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बसेको थियो।