जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन्।
बुधबार प्रदेश सभाको पहिलो अधिवेशनको चौंथो बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन्।
सभामा उपस्थित १०२ जना सभा सदस्यले विश्वासको मत दिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।
मधेस प्रदेशसभामा माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सदस्य रहेका छन्।
पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारणअर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गरे।
प्रदेशसभाको पहिलो कार्यकालमा सभामुखको जिम्मेवारी सम्हालिसकेका यादव जसपाबाट पहिलोपटक मुख्यमन्त्री बनेका लालबाबु राउतलाई रोक्दै सर्वसम्मत पार्टी संसदीय दलको नेता र त्यही हैसियतमा संविधानको धारा १६८ (२) बमोजिम गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
अब उनी सत्ता गठबन्धनको समझदारीअनुसार साढे दुई वर्ष प्रदेशको कार्यकारी प्रमुखको रुपमा रहनेछन्।