काठमाडौं। नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुखका लागि उम्मेदवारी दर्ता गरेकी छन्।
बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन परिसर पुगेर उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेकी हुन्।
उनको प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्।
यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो। प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।
न्यौपाने समानुपातिक सांसद हुन्। कैलालीकी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्।
लामो समय महिला संघमा काम गरेकी उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरिसकेकी छन्।
सभापति शेरबहादुर देउवानिकट उनी २०७४ को सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट पराजित भएकी थिइन्।
यसअघि सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन्।