काठमाडौं। पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ।
पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
४८ शव परीक्षण गरिँदै
दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ।
नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव बुधबार बिहानदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ।
मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ। कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ।
६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो।
तीमध्ये ७१ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए।