पोखरा । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ।
कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो।
स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन्। गाउँपालिकाले उनलाई २०७८ सालमा रूपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो। केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुन्।
यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ। दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन।