धनगढी । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा कोइलीदेवी चौधरी निर्वाचित भएकी छन्। उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेकपा एमालेबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन्।
उपसभामुखका लागि मंगलबार भएको निर्वाचनमा २८ प्रदेशसभा सदस्यको समर्थन पाउँदै चौधरी निर्वाचित भएकी हुन्। उनको विपक्षमा २३ मत खसेको थियो।
चौधरीलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेको हो भने नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले चौधरीलाई उपसभामुख बनाउने प्रस्तावको विपक्षमा मतदान गरेको थियो।
नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य भीम भण्डारी सभामुखमा निर्वाचित भएपछि प्रदेशमा शत्ता गठबन्धनको एक मत घटेको छ।
प्रदेश उपसभामुखमै उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी माया पन्तले भने २४ मत मात्रै प्राप्त गरेकी थिइन्। प्रदेश सभाको तत्कालीन कायम रहेका सदस्य संख्याको बहुमत अर्थात २७ सदस्य सदस्यको समर्थन नपाएपछि सभामुख भण्डारीले उनको उम्मेदवारी अस्वीकृत गरेका हुन्।
पन्त समानुपातिक निर्वाचन प्रणालीमार्फत नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन्। प्रदेश सभाको अर्को बैठक माघ ११ गते दिउसो २ गते बस्ने छ।