अष्ट्रेलिया। पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा सिड्नीको स्टार्थफिल्ड स्क्वायरमा दीप प्रज्वलन गरिएको छ।
स्टुडेन्ट एडभाइजरी काउन्सिल, एनआरएनए एसीसी अष्ट्रेलिया र एससीसी–एनएसडब्लू युथ फोरमको आयोजनामा विमान दुर्घटनामा मृत्यु भएकोहरुको सम्झनामा सिड्नीको स्टार्थफिल्ड स्क्वायरमा मंगलबार दीप प्रज्वलन गरिएको हो।
एनएसडब्लू युथ फोरमका संयोजक विक्रम दाहालले सिड्नीको स्टार्थफिल्ड स्क्वायरमा दीप प्रज्वलन गर्दै दुर्घटनामा दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको जानकारी दिए।
विमान दुर्घटना
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो। काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो।
विमान दुर्घटनामा परेका ७२ जनामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ। अझैं वेपत्ता २ जनाको खोजी भइरहेको छ।