हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ।
कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको मङ्गलबार बसेको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो। मुख्यमन्त्री जम्कट्टेलले आजै विश्वासको मत लिँदैछन्।
कांग्रेसले यसअघि यस प्रदेशको प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको थियो।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिन र प्रतिपक्षमा बस्न निर्देशन दिने निर्णय गरेको बताए।
बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेश कार्यसम्पादन समितिको बैठकले भनेको छ।
बागमती प्रदेशमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसको ३७ जना प्रदेश सभा सदस्य रहेका छन्।
बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनसहित जम्कट्टेल मुख्यमन्त्री बनेका थिए।