काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौं ल्याउने क्रममा छ।
दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शवलाई विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगिएको छ। श्व परीक्षणपछि आफन्तलाई बुझाइने छ।
दुर्घटना भएको विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। जसमध्ये हालसम्म ७० जनाको शव फेला परिसकेको छ।
दुर्घटनामा बेपत्ता २ जनाको खोजीकार्य मंगलबार बिहानैदेखि सुरु भएको छ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो।