काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदै छन् । पुस २५ मा मुख्यमन्त्रीको शपथ लिएका उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार विश्वासको मत लिने सबै प्रक्रिया सरकारले पूरा गरिसकेको छ ।
प्रदेशसभामा ७ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । जम्कट्टेल प्रदेशसभाको ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेका २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ । १ सय १० सदस्यीय प्रदेशसभामा ५६ पुगेको खण्डमा उनका लागि विश्वासको मत सहज हुने देखिन्छ ।
सभामुख र उपसभामुख चयन प्रक्रियामा सत्तापक्षका उम्मेदवारलाई मतदान नगरी तटस्थ बसेको एकीकृत समाजवादीले विश्वासको मत दिनेरनदिने टुंगो छैन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस प्रदेशमा मौन छ । ३७ जनाको प्रतिनिधित्व रहेको कांग्रेस प्रदेशको सबैभन्दा ठूलो दल हो ।
३ सांसद रहेको नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा बस्ने प्रस्ट पारिसकेको छ ।विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री जम्कट्टेलको छ ।