धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएकी छन् ।
सोमबार धनगढी पुगेका अध्यक्ष श्रेष्ठले सभामुख चयनमा गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवारलाई समर्थन गर्ने तर आफू प्रतिपक्षमा नै बस्ने निर्देशन दिएकी हुन्। उनले भनिन्, ‘हामी सभामुखको लागि मत हाल्नुपर्छ, तर सरकारमा भने जाँदैनौं। प्रतिपक्षमै बस्छौं।’
सुदूरपश्चिम प्रदेशमा आज सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यता थियो। तर, सर्वदलीय बैठकले भने मंगलबार चुनाव गर्ने निर्णय गरेको छ। त्यहिअनुसार, मंगलबार प्रदेश सभाको बैठक बोलाइएको छ।
यसअघि दुई पटक निर्वाचन हुँदा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न सकेको थिएन। सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र) बाट भीम भण्डारी उम्मेदवार छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ।