काठमाडौँ । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश-१ ले लगातार दोस्रो जित निकालेका छन् ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको हो ।
गण्डकीले दिएको ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर ६३ रन जोड्दै पूरा गर्यो ।सुदूरको जितमा कप्तान बिन्दु रावलले ४६ रनको इनिङ खेलिन् । शोभा रोकायाले ८ रन तथा यशोदा विष्टले २ रन जोडिन ।
गण्डकीका निरुता जिटीले १ विकेट हात पारिन् ।त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर ६० रन जोडेको थियो ।गण्डकीका लागि सिमाना केसीले १३ रन जोडिन । सिर्जना पौडेल र सृष्टि जैसीले ९/९ रन जोडिन ।
सुदूरका मनीषा चौधरीले ४ विकेट हात पारिन् ।यस जितसँगै समूह 'ए' को सुदूरले २ खेलमा ४ अङ्क जोडेको छ ।सुदूर दोस्रो स्थानमा रहेको छ ।
गण्डकीको यो लगातार दोस्रो हार हो । यस्तै आज नै भएको अर्को खेलमा प्रदेश नम्बर-१ विजयी भएको छ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश-१ ले लगातार दोस्रो जित निकालेको हो ।
मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ९ ओभरमा झारिएको थियो । जसमा प्रदेश-१ ले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो ।लुम्बिनीले पुरै ९ ओभर खेल्दा ७ विकेट गुमाएर ५० रन मात्र बनाउन सक्यो ।लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडिन । लुम्बिनीका अन्य ब्याट्सउमनले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।
प्रदेश-१ का लागि सङ्गीता राईले ३ विकेट लिइन् । सबनम राई,ज्योति दनुवार र रुबिना क्षेत्रीले एक एक विकेट लिइन् ।त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको थियो ।
प्रदेश-१ का काजल श्रेष्ठले २१ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन । अप्सरी बेगमले १२ रन जोडिन ।लुम्बिनीका कृतिका मरासिनी,सरस्वती पुन र बिभष्णा बिसीले १र१ विकेट लिइन् ।यस जितसँगै प्रदेश-१ ले २ खेलमा ४ अङ्क जोडेको छ । प्रदेश-१ समूह 'बी'को शीर्ष स्थानमा रहेको छ ।
लुम्बिनीको यो पहिलो हार हो । लुम्बिनीले २ खेलमा २ अङ्क जोडेको छ ।प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् ।