धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनको लागि निर्वाचन हुने भएको छ । यस अघि दुई पटक सम्म भएको निर्वाचनका कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।
यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत मात्रै पाए ।
३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन । आज बिहान ९ बजेको सभामुख चयन गर्न पुन बैठक बोलाइएको छ ।