काठमाडौं। पोखरामा भएको विमान दुर्घटनामा ६९ जनाको शव निकालिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटनामा ६९ वटा शव निकालिएको जानकारी दिए।
तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।
तीमध्ये ११ जनाको सनाखत भएको छ।
सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन्।
यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ।
दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको उनले बताए।
उनले क्रेनको प्रयोग गरेर पनि ३ शव निकाल्न नसकिएको बताए। दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।
सम्बन्धित समाचारः
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
पोखरामा जहाज दुर्घटनाः ७२ जनाको अवस्था अज्ञात, यस्तो छ प्रत्यक्षदर्शीको बयान
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)
विमान दुर्घटनाः भोलि शोक बिदा, अन्य के–के गर्यो मन्त्रिपरिषदले निर्णय ?