धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलको प्रदेश सभामा राजीनामा माग गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा एकीकृत समाजवादीका संसदीय दलका नेता दिर्घ सोडारीले शनिवार सभामुख चयनका लागि बसेको प्रदेश सभाको बैठकमा बोल्दै सभामुख चयनमा असफल भएर सरकारले बहुमत गुमाइसकेकोले नैतिकताका आधारमा मुख्यमन्त्री रावलले राजीनामा दिनु पने बताए ।
मुख्यमन्त्री भएन भएको भोलिपल्ट सभामुख चयनका लागि भएको मतदानमा सत्तारुढ दलका उम्मेदवार भीम बहादुर भण्डारी अस्वीकृत भएका थिए । पहिलो दिन भएको निर्वाचनमा २६ मत पाएका भण्डारीले शनिवार दोस्रो पटक भएको निर्वाचनमा २२ मत मात्र पाए ।
विश्वासको मत नलिँदै मुख्यमन्त्रीले बहुमत गुमाइसकेकोले तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सोडारीको भनाई थियो ।
यस्तै उनले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई नेपालको पुरानो नक्सा भएको डायरी वितरण गरिएको बताए । सोडारीले प्रदेश सभा सदस्यलाई नेपालको पुरानो नक्सा भएको डायरी बाँडिएको विषयमा छानबिन गरिनु पर्ने बताए ।