काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । पुस १० गते प्रधानमन्त्री नियुक्त भएर ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले आइतबार सत्ता साझेदार दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारका लागि पहल लिँदै आएका छन् । त्यसका लागि सत्ता गठबन्धनको बैठक बोलाउनेदेखि एमाले अध्यक्ष केपी ओली र अन्य नेताहरुसँग निरन्तर छलफल गर्दै आएका हुन् ।
सत्ता साझेदार दलहरुसँग छलफलको आधारमा प्रचण्डले मन्त्रिपरिषद्लाई विस्तार गर्दै आफ्नो कामलाई तिव्रता दिन थालेका हुन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अनलाइन सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्रिपरिषद विस्तार हुने जानकारी दिए । उनले सोमबार पूर्ण मन्त्रिपरिषद्को बैठक बस्ने पनि बताए ।
हाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री छन्। जसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको रुपमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीको रुपमा माओवादीका नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृह मन्त्रीको रुपमा रवि लामिछाने छन् ।
यस्तै ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान भने विनाविभागीय मन्त्री रहेका छन्।प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा पनि उपप्रधानमन्त्रीसहित सरकारमा जाने तयारीमा छ । यसआधारमा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नै चार जना हुने देखिन्छ ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायत सबैलाई चित्त बुझाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रचण्डको तयारी छ । यही तयारीस्वतरुप बालुवाटारमै शनिबार प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । यस्तै प्रचण्डले उपप्रधान एवमु गृहमन्त्री लामिछानेसँग पनि परामर्श गरेका थिए ।