धनगढी । शुक्रबार अनिश्चित समय सम्मको लागि स्थगित सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउने बारे आज बिहान ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
बिहीबार साँझ सभामुखमा कसैको पनि बहुमत पुग्न नसकेपछि हिजो बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो । तर, शुक्रबार सर्वदलीय बैठकमा कांग्रेसले निर्वाचन प्रक्रिया सुरबाट गर्नु पर्ने भनेपछि सहमति हुन सकेको थिएन । त्यसैबिच सभाध्यक्ष शिवराज भट्ट सम्पर्क विहीन भएपछि संसद् अनिश्चित भएको थियो ।उनले आगामी संसदबारे छलफल गर्न ११ बजे सर्वदलीय बैठक बोलाइएका समेत जनाए ।
शुक्रबार साँझ सम्म सभाध्यक्ष सम्पर्कमा नआएपछि सत्ता गठबन्धनका २९ जनाले हस्ताक्षर गरेर तत्काल संसद् बोलाउन माग गरेका थिए । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । उनीहरु बिच आज निर्वाचन गर्ने कि अर्को दिन भनेर आजकै सर्वदलीय बैठकले टुङ्गो लगाउने छ ।
यता सुदूरपश्चिम प्रदेश सभाका बहुमत सदस्य अर्थात २९ जनाले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न माग गरेका छन् । शुक्रबार साँझ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेश सभा सदस्यहरूले संसद् बैठक आह्वान गर्न माग गरेका छन्।
प्रदेश सरकार गठन भएको एक दिन नबित्दै सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दलहरु सभामुख चयनका लागि बहुमत जुटाउन असफल भएका छन् ।सरकारले पूर्णता नपाउदै सभामुख चयनमा बहुमत जुटाउन नसक्दा प्रदेश सरकार संकटमा परेको छ ।