कास्की । गण्डकी प्रदेशमा सभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ।सभामुख चयनका लागि प्रदेशसभाको बैठक अपराह्न ३ बजे बोलाइएको छ ।
सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन। गण्डकीमा भागबन्डामा एमालेको भागमा मुख्यमन्त्री परेको थियो भने माओवादी केन्द्रको भागमा सभामुख परेको छ।
माओवादीबाट गण्डकीको मुख्यमन्त्री दावी गरेका हरिबहादुर चुमानलाई पार्टीले उनको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेपछि सभामुखमा भने गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल उमेदवार बनाउने सहमति भएको छ। धिताल नेता बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीका नेता भएपनि केन्द्रमा पार्टी एकिकरणको प्रक्रिया अगाडि बढेकाले माओवादीले उनलाई सहर्ष रुपमा सभामुखमा स्विकारेको हो।
यस्तै, उपसभामुखको निर्वाचन भने यही माघ २ गते हुनेछ। भागबन्डाका क्रममा उपसभामुख एमालेको भागमा परेपनि कसलाई उमेदवार बनाउने भन्ने निश्चित भएको छैन।
एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन्। गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।