काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ ।
त्रिवि रजिस्ट्रार कार्यालयले आंगिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा निर्वाचन गराउन पूर्वतयारीसमेत अघि बढाउन आग्रह गरेको छ । विद्यार्थी भर्ना, लगत संकलन, परीक्षालगायतका विषय पूर्वतयारीअन्तर्गत पर्छन् ।
त्रिवि कार्यकारी परिषद्ले गत शुक्रबार चैत ५ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा रजिस्ट्रार कार्यालयको जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले निर्वाचनसम्बन्धी पूर्वतयारी अघि बढाउन सर्कुलर गरेका हुन् ।
कार्यकारी परिषद्ले विद्यार्थी कल्याण तथा खेलकुद परिषद्को प्रस्तावमा निर्वाचनको मिति तय गरेको थियो । खेलकुद परिषद्ले मिति प्रस्ताव गर्नुअघि विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिसँग परामर्श गरेको हो ।
त्रिवि क्लालेन्डरमा फागुन १४ मा निर्वाचन गर्ने उल्लेख भए पनि परीक्षा, विद्यार्थी भर्नालगायतका काम प्रभावित हुने भएकाले चैत पहिलो साता निर्वाचनको मिति तोकिएको हो ।परिषद्को निर्णयपछि केन्द्रमा रेक्टरको अध्यक्षमा निर्वाचन समिति गठन गरेर तयारी अगाडि बढाउने व्यवस्था छ ।