काठमाडौँ । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो । झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गरेका थिए ।