हेटौंडा। बागमती प्रदेशसभाको सभामुख पदका लागि तीन जनाको उम्मेदवारी पेरको छ।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन्।
नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी र्दा गराए। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। उहाँको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ छन्।
सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ः०० बजेसम्मका लागि तोकिएको थियो। प्रदेशसभामा एक सय १० जना सांसद छन्।
बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने सचिवालय सचिव एवं निर्वाचन अधिकृत खड्काले जानकारी दिए।