काठमाडौं। मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ।
आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ। बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन्। उनलाई तत्काल उपस्थित सात सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए। सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।
त्यसअघि अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ।