काठमाडौँ । प्रदेश नम्बर १ र बागमती र सुदूरपश्चिम प्रदेशले आज (बिहीबार) सभामुख पाउने भएका छन् । त्यसका लागि प्रदेशसभामा आज मतदान हुँदैछ ।
प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । सोहीअनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ सरकारमा मुख्यमन्त्री भएका छन्।
सभामुखमा माओवादी केन्द्रले दिएको उम्मेदवारीलाई एमालेलगायतका दलले समर्थन गरेका छन् । माओवादीले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी नपरेपछि उनी स्वतः सभामुख बन्ने भएका छन् ।
यसैगरी बागमती प्रदेशमा सत्ता गठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले सभामुख पाएको छ । जसअनुसार राप्रपाले भुवन पाठकलाई उम्मेदवार बनाउने तयारी भएको छ । आजै मनोनयन दर्ताको कार्यक्रम राखेर निर्वाचन हुँदैछ । कांग्रेसले उम्मेदवार उठाउने या नउठाउने भन्नेमा टुंगो लागिसकेको छैन।
आजै सुदूरपश्चिममा पनि सभामुख चयन हुँदैछ ।प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।