काठमाडौँ । राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले पुस २८ गते बिहीबारसम्मको समयसीमा निर्धारण गरेको छ ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अधिकृत मधुकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले उपनिर्वाचनमा भाग लिन निवेदन दिएको जानकारी दिए ।
लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आगामी माघ २५ गते निर्वाचन हुँदैछ ।लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो ।
राष्ट्रिय सभाबाट राजीनामा गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिनुभएका भट्टराईको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको थियो । प्रतिनिधि सभामा लुम्बिनी प्रदेशबाट सात राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएका छन् ।