धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिले सम्म माओवादीले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गर्न सकेको छैन ।
सुदूरपश्चिममा माओवादीबाट आधा दर्जन नेता सभामुखको आकाङ्क्षी थिए । अन्तिम समयमा अक्कर रावल र भीम भण्डारी मध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय हुन सकेको छैन । रावल अछामबाट र भण्डारी बझाङबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।
रावल प्रदेश सभामा दोस्रो पटक निर्वाचित हुन् । यस अघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका उनी अहिले सभामुखको लबिङमा छन् ।
प्रदेश सभा सचिवालयले प्रकाशित गरेको तालिका अनुसार आज १०ः३० देखी २ः३० सम्म सभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव दर्ता हुने छ । सोही दिन उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुने छ ।
आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।