पोखरा । पोखरा महानगरपालिकाको १२ औँ नगर सभामा लफडा भएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिले सभामा जातीय विभेद गर्ने वडाअध्यक्षमाथि कडा कारबाही हुनुपर्ने माग राख्दै रोस्टममै पुगेरै विरोध गरेपछि १२ औँ नगर सभा स्थगित भएको हो ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले जातीय भेदभाव गर्ने वडाध्यक्षलाई पक्राउ गरिसकेपछि पनि सभामा प्रक्रियाविपरीत एमालेले कालोपट्टि बाँधेर विरोध गर्नु अनुचित कार्य नभएको भन्दै बहिस्कार गरेका थिए । कांग्रेसले सभा बहिस्कार गरेपछि स्थगित भएको हो । सो कार्यक्रममा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको पनि सहभागी थियो ।
यता वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् ।
वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक–पटक अमर्यादित व्यवहार गरेको भन्दै गएको आइतवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । उजुरीपछि आज मङ्गलवार जिल्ला प्रहरी कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो ।