धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावका बिच थुप्रै काम भएको दाबी गरेका हुन् । उनले आफ्नो कार्यकालमा सङ्घीयता जग बसाल्ने काम भएको बताए ।
उनले आगामी दिनमा प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने खाकासमेत सरकारले कोरेको बताए । ‘संघीयताको आधारशीला राख्न सफल भएका छौँ । प्रदेशको विकासको आधारशीला तयार पार्नुका साथै परिणामुखी काम पनि गरेका छौँ ।’ मुख्यमन्त्री भट्टले भने, ‘जनताका अपेक्षा कति पूरा भए, हामीले कति काम ग¥यौँ पछि मूल्यांकन होलानै ।’ राष्ट्रिय राजनीतिमा आएको उतारचढाव र सरकारको अस्थिरताका बीच प्रदेशमा पाँच वर्ष स्थायी सरकार दिनसक्नुलाई उनले आफ्नो सफलता भनेका छन् ।
पहिलो सरकार भएकाले संरचना, कानुन, जनशक्ति अभावजस्ता चुनौती सामना गर्नु परेको उनले बताए । चुनौतीबीच प्रदेशलाई विकासको बाटोमा अगाडि लैजान सफल भएको उनको दावी छ । प्रदेशमा पूर्वाधार विकाससँगै कृषि, यातायात, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गरेको भट्टले बताए ।
प्रदेशको एकल र साझा अधिकारका ५० वटा कानुन निर्माण गरिएको उनले जानकारी दिए । प्रदेश सरकारले पाँच वर्षको अवधीमा चार सय किलोमिटर सडक कालोपत्रे गरेको, सात सय ६६ किलोमिटर सडक ग्राभेल गरेको र एक हजार ३२३ किलोमिटर कच्ची सडक निर्माण गरेको पनि उनले जानकारी दिए।
‘हाम्रो सरकार गठन हुनुअघि प्रदेशभरि बढीमा एघार सय किलोमिटर सडक कालोपत्रे थियो । हामीले पाँच वर्षमा चार सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेका छौँ ।’ उनले भने, ‘सात–आठ सय किलोमिटर सडक दुई वर्षभित्रै कालोपत्रे हुने गरी काम अगाडि बढेको छ ।’ त्यस्तै एक सय ९० किलोमिटर पक्की र दुई सय ८५ किलोमिटर कच्ची कुलो निर्माण गरेको उनले जानकारी दिए । सरकारले खानेपानी आयोजनाहरु निर्माण गरेर दुई लाख जनसंख्यालाई खानेपानी सुविधा पु¥याएको मुख्यमन्त्री भट्टले दावी गरे।
उनले प्रदेश सरकारले नौवटै जिल्लाका अस्पतालहरुमा सीमित भए पनि विशेषज्ञ सेवाको थालनी गरिएको बताए । ‘म मुख्यमन्त्रीको सपथ लिएर सेती अस्पतालको निरीक्षणमा जाँदा त्यहाँ एउटा सामान्य एक्सरे मेसिनमात्र थियो, विशेषज्ञ सेवा थिएन । अहिले सिटीस्क्यान सेवा सुरु भएको छ, एमआरआइ मेसिन आउने क्रममा छ । विशेषज्ञ सेवाहरु थपिएका छन् ।’ भट्टले भने, ‘सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक राखेका छौँ, उपकरणहरु थपिएका छन् ।’ गर्भवती जाँचका लागि प्रदेशका ८८ वटै पालिमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्नु महत्वपूर्ण काम भएको उनले बताए ।
मुख्यमन्त्री भट्टले युवालाई रोजगारी दिनका लागि स्वरोजगार कोषमार्फत न्यून ब्याजदरमा विनाधितोसमेत ऋण दिने प्रकृया सुरु गरिएको बताए । प्रदेशको पर्यटन गुरु योजना तयार पारे पर्यटन विकासका कामलाई सरकारले अगाडि बढाएको उनले दावी गरे । सबै पालिकामा एकीकृत मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरेर सात हजार किसानलाई सहयोग गरिएको बताए ।
केन्द्रमा राजनीतिक उतारचढाव आए पनि माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले भने प्रदेशमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने शौभाग्य पाए । सुरुमा एमाले–माओवादी र पछि नेकपा हुँदा भट्टले दुई तिहाइ सरकारको नेतृत्व गरे । नेकपा विभाजनपछि माओवादी र समाजवादीको संयुक्त सरकारको नेतृत्व गरेका उनले केन्द्रमा फेरिएको समीकरणसँगै काँग्रेसलाई पनि सरकारमा सामेल गराएका थिए ।
मुख्यमन्त्री भट्टले सरकार सञ्चालनका क्रममा आफू निर्विवादित र निस्कलङ्कत रहेको दावी गरे । ‘सत्ता सञ्चालनका क्रममा विभिन्न ववण्डरहरु हुन्छन् तर मेरो त्यस्तो केही भएन । निस्कलङ्कित भएर निस्कदैछु ।’ उनले भने । अब आउने सरकारलाई सहज रुपमा अगाडि बढ्ने गरी आधार तयार भएको उनको भनाइ छ। वर्तमान सरकारले सुरु गरेका योजना आउने सरकारले निरन्तरता दिने विश्वास उनले व्यक्त गरेका छन्।
संघीय सरकारले जग्गाको भोगाधिकार नदिँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माणको सुरुवात गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताए । जनशक्तिको अभाव, संघबाट कतिपय अधिकार हस्तान्तरण नहुनुजस्ता चुनौती भने सरकारले सामना गर्नुपरेको उनले बताए ।