काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्।
मंगलवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन्।
उनको पक्षमा २६८ मत खसेको छ। उनको पक्षमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति, जनमतका साथै स्वतन्त्र सांसदले मतदान गरे।
त्यस्तै, उनको विपक्षमा २ मत खसेको छ। उनको विपक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) सांसद चित्रबहादुर केसीले मात्रै मतदान गरे।
आज संसदमा २७० सांसद उपस्थित थिए। प्रचण्डले प्रतिनिधिसभाको उपस्थित संख्याको ९९.२ प्रतिशत मत पाए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ।
उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ।
सम्बन्धित समाचारः
प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयले ओली सशंकित
प्रचण्डलाई विश्वासको माग्दै देउवाले भने भने ? (पूर्णपाठ)
प्रधानमन्त्रीमा नाम लेखाउने वा फोटो झुन्ड्याउने मात्रै हैनः प्रचण्ड (पूर्णपाठसहित)