काठमाडौं । विराटनगर सुपर किंग्स राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा प्रवेश गरेको हो ।
लुम्बिनीले पहिलो क्वालिफारयरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । जनकपुरले दुईपटक क्वालिफायर खेल्दा पनि फाइनल पुग्ने मौका गुमायो । दोस्रो क्वालिफायरमा विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।
उसका लागि चाडविक वाल्टनले ४७ बलमा ६ चौकासहित ५१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । त्यस्तै, कप्तान ट्रेभन ग्रिफिथले ३४ र खडक बोहराले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
विराटनगरका लागि केओन जोसेफले तीन, राज नानन, नन्दन यादवले दुई/दुई, सूर्य तामाङ र हुसेन तलतले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थि त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । उसका लागि ओपनिङ ब्याटर गौरांशु शर्माले सर्वाधिक ४२ रन बनाए ।
अर्जुन साउँदले ३५, राज नाननले ३३ र हुसेन तलतले ३१ रन जोडे । जनकपुरका लागि शराफुद्दीन अशरफ, जितेन्द्र मुखिया, ललित राजवंशी र समिउल्लाह शिनवारीले एक/एक विकेट लिए । विराटनगरले अब उपाधिका लागि बुधबार लुम्बिनीको सामना गर्नेछ ।