पोखरा। वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।
वडा सदस्य मैया नेपालीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरत बहादुर अधिकारी मंगलबार पक्राउ परेका हुन्।
नेपालीका अनुसार पुस १८ गते वडाले लक्षित समूहको लागि छुट्ट्याएको ५ लाख रुपैयाँमध्ये महिलालाई ४ लाख र दलितलाई १ लाख रुपैयाँ विनियोजन गरेको थियो। महिलालाई छुट्ट्याइएको बजेट खर्च गर्न महिला भेला गरेर योजना निर्धारण गर्ने तय गरिएको थियो।
लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच दोहोरो संवाद हुँदै गर्दा अपमानजनक शब्द बोलेको नेपालीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन्। आज नै वडाध्यक्ष अधिकारीलाई म्याद थपका लागि अदालत लिने तयारी छ।