हेटौँडा। बागमती प्रदेशको चौंथो मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलवार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलले शपथसँगै पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना मन्त्री नियुक्तिसँगै मङ्गलबार नै शपथ ग्रहण गराइएको छ ।
एमालेबाट बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा मन्त्री बनेका छन्। थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने थापाले जिम्मेवारी पाउने मन्त्रालय पछि तोकिने भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका थिए। माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ।