काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको तर्फबाट विश्वासको मत दिने/नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार विहान बस्दैछ ।
विहान ८ बजे बस्ने बैठकमा विश्वासको मत दिने या नदिनेबारे निर्णय लिने कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सभापति शेरबहादुर देउवासहित नेतासँग देउवा निवास धुम्बाराहीमा भेट गरेका थिए । सो भेटमा विश्वासको मत दिन आग्रह उनले गरेका थिए । सभापति देउवाले पार्टीमा छलफल गरेपछि त्यसबारे निर्णय लिने आश्वास दिएका थिए ।
देउवा निवास धुम्बाराहीमा बस्ने बैठकले ठोस निर्णय लिने ती नेताले बताए । पदाधिकारी बैठक लगत्तै कांग्रेस संसदीय दलको बैठक पनि आज विहान ९ बजे बस्ने तय भएको कांग्रेसले जनाएको छ । सो बैठकमा संसदीय दलको नेताको हैसियतले सभापति देउवाले पदाधिकारी बैठकको निर्णयबारे जानकारी गराउने छन् ।
प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । सो दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस समेत सरकारमा सहभागी भई राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राख्दैआएका छन् ।