काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने आश्वासन दिएका छन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सोमबार साँझ आफूलाई भेट्न धुम्बाराहीस्थित निवास आइपुगेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएको बुझिएको छ ।
प्रधानमन्त्री दाहालले मंगलबार बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि उनी कांग्रेस सभापति देउवा निवास पुगेका हुन् ।
भेटमा कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का र कृष्ण सिटौलासमेत सहभागी थिए । देउवाले व्यक्तिगत रूपमा विश्वासको मत दिने आश्वासन दिए पनि पार्टीले भने आधिकारिक निर्णय गर्न बाँकी छ ।मंगलबार बिहान बोलाइएको संसदीय दलको बैठकले विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय लिनेछ । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।