काठमाडौं। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त रावत (सीके रावत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा दलको तर्फबाट सोमबार सम्बोधन गर्दै अध्यक्ष रावतले सो कुरा बताएका हुन्। सङ्घीय गणतान्त्रिक व्यवस्थाका लागि आफूहरू सदैव लागिरहने उनले बताए।
लोकतान्त्रिक व्यवस्थाकै देनले धनाढ्यहरू सामान्य नागरिकको झुपडीमा गएर झुक्न बाध्य भइरहेको उनले बताए। निर्वाचनबाटै जनताको नयाँ आवाज मुखरित भइरहेको उनले चर्चा गरे।
आगामी दिनमा नेपाल सरकार, दलका नेताहरूले दलको अधिकार सुनिश्चित गर्नमा लाग्न उनले आग्रह गरे।
नयाँ दलसँग राजनीतिक आवेगसँगै संयमयता र धैर्यता पनि रहेको उनले बताए। देशमा सकारात्मक परिवर्तनका लागि आफूहरू संसदमा आएको बताउँदै अध्यक्ष रावतले त्यसका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाए।
नेपाल विविधतायुक्त देश भएकाले देशमा सङ्घीयता अपरिहार्य रहेको चर्चा गर्दै अध्यक्ष रावतले सरकारले सङ्घीयतालाई सबल बनाउनेतर्फ ध्यान दिनेमा उनले विश्वास व्यक्त गरे।