काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले पाएको मत निराशाको नभएर आशाको मत भएको बताएका छन्।
मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताए। आफूहरूलाई जनताले परिवर्तनको लागि मत दिएको उनले बताए।
उनले जनताले आफूहरूलाई मात्तिने गरी र पुराना दलहरूलाई पनि सचेत हुने गरी मत दिएको बताए। उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठुलो कुरा होइन। हामीले जुन समयमा मत पाएका छौँ। त्यो दल र व्यक्तिलाई दिएको मत मात्रै होइन। यो मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घण्टी हो। यो घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ।’
उनले भ्रष्टाचारका फाइल खोलेर सुशासनको आशा जगाउने प्रतिवद्धता जनाए।
उनले भ्रष्टाचारका विषयमा कसैले पनि प्रभाव नपारीदिन आग्रह गर्दै जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताए। लामिछानेले अपराधको अनुसन्धानमा असहयोग नगरिदिन सासंदहरुलाई आग्रह गरे।