काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका छन्।
ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौंबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकिकृत कारोवारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताए।
उनले भने, ‘यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं।’
दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यसबाट देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजीवजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूवीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकार नीजि क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताए।
पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले नीजि क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै उनले नीजि क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताए।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तिय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको बताए। यसबाट बैंकिङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तिय मध्यस्थताको लागत समेत घटेको उनको भनाइ छ।