काठमाडौँ । १ नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको संख्या घटाउन प्रयास गर्ने बताएका छन् ।
'प्रदेशमा १३ मन्त्रालय छन् । अहिलेको भन्दा बढ्दैन । घटाउने प्रयास गर्छौं,’ मन्त्रालयको संख्या घटाउनेबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले भएका मन्त्रालय घटाउने प्रयास हुन्छ ।’
सबै दलको सहमतिमा नामकरणको विषय टुंगो लगाइने उनले बताए ।मुख्यमन्त्री कार्कीले सुशासन आफ्नो एजेन्डा भएको बताए । ‘पहिलो सुशासन, दोस्रो सुशासन र फेरि पनि सुशासन मेरो एजेन्डा हुनेछ,’ उनले भने । अहिलेसम्म प्रदेश सरकारले गरेको काम र यथार्थ सार्वजनिक गर्ने पनि उनले बताए ।
प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने विषयमा उनले पार्टीका शीर्ष नेताहरूले गर्ने सहमतिका आधारमा आफू अगाडि बढ्ने बताए ।
‘मूलभूत रूपमा हाम्रा राजनीतिक दलहरूबीच सहकार्य भएको छ । महत्त्वपूर्ण कुरामा माथिल्लो नेताको सहमतिलाई पालना गर्छौं । दैनिक काम काजका लागि स्वायत्त ढंगले गरेर अगाडि बढाउँछौं,’ उनले भने ।कार्की १ नम्बर प्रदेशका चौथो मुख्यमन्त्री हुन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् ।