काभ्रेपलाञ्चोक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
धुलिखेलमा आयोजित एमालेको जनसङ्गठनहरूको सुदृढीकरण कार्यशाला गोष्ठीमा आइतबार उनले सो कुरा बताएका हुन् ।फरक मोडमा पुगेको नेपालको राजनीतिको कोर्ष परिवर्तन गराउन आफूहरू सफल भएको उनको भनाइ छ ।
“गलत बाटोमा लगिएको राजनीतिलाई निर्वाचनपछि हामीहरूले सही दिशामा ल्याउने सफल भएका छौँ” उनले भने । एमाले रक्तविजजस्तो भएको दाबी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नेपाली जनताले बनाएको सरकार भएकाले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे।
सरकारलाई विश्वासको मत नदिनका लागि अनेक चलखेलहरू भएको बताउँदै सरकारलाई असफल बनाउने सबै प्रयासहरू असफल हुने उनले बताए । एमालेको समर्थनमा बनेको सरकार भएकाले वर्तमान सरकारले विश्वासको मत प्राप्त गर्ने बताए ।