काठमाडौं। प्रदेश १ मा एमालेका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
कार्कीले सत्ता साझेदार दलको तर्फबाट प्रदेश पमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा उनले दाबी पेश गरेका छन्। कार्कीले सोमबार मुख्यमन्त्रीको शपथ लिनेछन्।
शीर्ष नेताहरुबीच भएको छलफलमा उक्त प्रदेशमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको थियो।
९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ।
प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन्।
झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की अध्यक्ष केपी ओली निकट, एमाले स्थायी कमिटी सदस्य, तथा पहिलो कार्यकालमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।