काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति भएको छ।
आइतबार डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति भएको हो।
दुई पार्टीबीच भएको १२ बुँदे सहमतिमा जनमत पार्टीको अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा टिकापुर घटनामा दोषी ठहर भइ सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबाट सम्झौता भएकै दिनबाट सुरु गर्ने, सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, यसअघिसरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधित) अध्यादेश २०७९ लाई संसदबाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाव दिने सहमति भएको छ।
त्यस्तै, विभिन्न आन्दोलनमा सहभागिता भएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरुलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानूनी प्रक्रिया मार्फत सरकारलाई दवाव दिने, नागरिकताको समस्या समाधान गर्न दबाब दिने, संघदेखि प्रदेशसम्मको सरकार गठन हुँदा सहमति भएका बुँदाहरुलाई कार्यान्वयनका लागि एक भएर जानेलगायतका विषयमा सहमति भएको छ।
संसदमा जनमत पार्टीका ६ सांसद छन् उन्मुक्ति पार्टीका ४ सांसद छन्।

