काठमाडौं। प्रदेश १ मा एमालेका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।
कार्कीले सत्ता साझेदार दलको तर्फबाट आज दिउँसो ४ बजे प्रदेश पमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन्।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा दाबी पेश गर्ने बताए।
आजै सानो मन्त्रिपरिषद्को नामावली प्रदेश प्रमुखसमक्ष पेश गर्ने दलहरुको तयारी छ। पहिलो चरणमा एमालेबाट तिलकुमार मेयाङ्वो र माओवादीबाट दुर्गाप्रसाद चापागाईं मन्त्री बन्ने बताइएको छ।
शीर्ष नेताहरुबीच भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको थियो।
९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ।
प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन्।
झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की अध्यक्ष केपी ओली निकट, एमाले स्थायी कमिटी सदस्य, तथा पहिलो कार्यकालमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।