सिराहा। पानी भनेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ।
मृत्यु हुनेमा मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत सिराहा नगरपालिका–११ भलुवाहीकी १६ वर्षीया सिर्जनाकुमारी महरा रहेकी छन्।
गत शुक्रबार विद्यालयमा महराले पेट दुखेपछि औषधिसँगै पानी भनेर स्पिरिट खाएकी थिइन्।
त्यसपछि बेहोस भएकी उनको शनिबार राति साढे १० बजे कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महरालाई पानी सोचेर शिक्षिका अम्बिका लम्सालले नै स्पिरिट दिएको खुलेको छ। प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
घटनको छानविन हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मृतकका परिवार, विद्यार्थी र स्थानीय आन्दोलित बनेका छन्।
उनीहरुले मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
मृतकको शव अहिले अस्पतालमै राखिएको छ।