काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्।
आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्डले नेपाल र यादवसँग छलफल गरेका हुन्।
भेटपछि प्रधानमन्त्री प्रचण्डले छलफल सकारात्मक भएको बताए। भेटमा प्रचण्डले नेपाल र यादवलाई पुस २६ गते संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए।
जसपाका अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बारेमा छलफल भएको र पुनः छलफल हुने बताए। उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको उल्लेख गरे।
भेटमा प्रधानमन्त्रीले मंगलबार लिने विश्वासको मतका साथै वामपन्थी एकतालगायतको विषयमा छलफल भएको बताइएको छ।
यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।