कास्की। मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हेम्जा सडक खण्ड अहिले ‘भाइरल’ सडकका रुपमा चिनिएको छ।
हिमशृङखलाको अवलोकन गर्दै सवारी गर्न पाइने छ लेनको सडकखण्ड पछिल्लो समय अत्यधिक रुपमा दुर्घटना हुने सडकका रुपमा परिचित हुन थालेको छ।
गएको ६ महिनामा मात्र यो क्षेत्रमा साना ठुला गरी १० वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। बाटो फराकिलो हुँदा र धेरै सुन्दर हुँदा पनि सवारी दुर्घटना हुनु दुःखको विषय भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले बताए।
उनका अनुसार अब उक्त क्षेत्रमा टाइम कार्ड प्रयोगमा ल्याउने तयारी गरिएको छ। उनले भने, ‘सडक खण्डमा प्रतिघण्टा १ सय ३५ किलोमिटरको गतिमा गाडी गुड्ने हुँदा दुर्घटना न्यूनीकरण गर्न अब टाइम कार्ड लागु गर्नुको विकल्प नै छैन।’
पोखरा महानगरपालिका–२५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले दुर्घटना रोक्न यात्रुका लागि फुटट्रायकको जग्गा खोज्न थालिएको बताए।