काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठक केही बेरमा बस्ने भएको छ । प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनका विषयमा छलफल गर्न गठबनधन दलहरुको बैठक बस्न लागेको हो ।
बैठक केहिबेरमा सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । संघीय सरकारको नेतृत्व माओवादीले लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् ।
उनले यही २६ गते विश्वासको मत लिँदैछन् । उक्त विषयमा पनि सत्ता साझेदार दलहरुबीच बैठक बस्न लागेको हो । त्यस्तै ७ प्रदेशमा को कस्ले सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रदेश – १ सरकारको दावी गर्ने आज अन्तिम दिन हो । त्यस्तै अन्य प्रदेशहरुमा पनि सरकार गठन गर्ने म्याद खड्किँदैछ । तर केन्द्रस्तरमा कस्ले सरकार गठन गर्ने भन्ने विषय टुंगिएको छैन । यद्यपि यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले सरकारको दावी गरिरहेका छन् । तर प्रदेश – १ मा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना बलियो छ ।
सत्ता गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति लगायत ७ दल आबद्ध छन् ।