काठमाडौँ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए। अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ।